राजनीति

हिजो स्थगित स्थायी कमिटीको बैठक आज बस्दै


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्न लागेको हो ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित गरिएको थियो । उक्त बैठक आज बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । स्थायी कमिटिको बैठक बसेपछि केन्द्रिय कमिटिको बैठक राख्ने एमालेको तयारी छ ।

सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ । सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।

सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग थप रुष्ट देखिएको छ । दुई नेताविच हुने भनिएको संवाद पनि तत्कालका लागि टरेको छ । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष रुष्ट बनेको हो ।