काठमाडौँ – नेपाली राजनीतिमा जे पनि हुने गर्छ त्यसलाई भारतीय मिडिया, पत्रपत्रिकाले विशेष प्राथमिकतामा राख्ने गर्छ । कुनै अखबारहरुले त सम्पादकीय नै लेख्ने पनि गर्छन् ।
त्यस्तै हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई पनि भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख अंग्रेजी दैनिकहरुले यस विषयमा सम्पादकीय नै लेखेका छन् । सम्पादकीयहरुको मर्म अदालतले संसद्को पुर्नस्थापना गर्नु सकारात्मक भएको उल्लेख गर्दै अदालतले प्रजातन्त्रको उद्धार गरेको धारणा सार्वजनिक गरेका छन् ।
दि हिन्दुस्तानटाइम्स दैनिकले नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार ग¥यो शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ । सो पत्रिकाले भारतले केपी ओलीलाई समर्थन गरेर आफैं प्रजातान्त्रिक मूल्य र मान्यताको गलत दिशामा उभिएको तर अब त्यो कोर्स परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ । नेपालको अदालतले संविधानवादलाई अगाडि बढाएको भन्दै सो पत्रिकाले अब भारतले आफ्नो कोर्स परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ ।
टाइम्स अफ इन्डियाले आफ्नो सम्पादकीयमा नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने र भारतमा विकासका परियोजनाहरुलाई गति दिनुपर्ने उल्लेख गरेको छ । सो पत्रिकाले नयाँदिल्लीले सन् २०१५ मा संविधान जारी गरेपछि जस्तो हस्तक्षेप गरेको थियो, त्यसो गर्न नहुने उल्लेख गरेको छ । सो सम्पादकीयमा भनिएको छ, ‘सन् २०१५ को हस्तक्षेपले नेपाली समाजको एक हिस्सालाई चीन तर्फ धकेल्यो ।’
सम्पादकीयमा नयाँ दिल्लीले देउवासँगको मित्रतालाई धेरै बढाइचढाइ गर्न नहुने र उनीहरुसँग अस्वाभाविक अपेक्षा गर्न नहुने समेत उल्लेख गरेको छ । सम्पादकीयमा भनिएको छ, ‘नेपालका कुनै पनि राजनीतिज्ञले दिल्लीसँग नजिकको सम्बन्ध भएको देखाउन सक्दैनन् । काठमाडौंको कुनै पनि सरकारले भारतसँग जति नजिकको सम्बन्ध भए पनि चीनलाई इन्कार गर्न सक्दैन किनकी चीनले नेपालको पूर्वाधारमा धेरै लगानी गरेको छ ।’
दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको उल्लेख गरेको छ । सो सम्पादकीयमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले ओली चाहे अनुसार नै फेरि संसद भंग गरेर खुला पक्षपाती कदम चालिन् । देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरिन् जुन आश्चर्यजनक थियो ।’
सो सम्पादकीयमा नेपाली कांग्रेस र देउवा कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको समेत उल्लेख गरिएको छ । सम्पादकीयमा भनिएको छ, ‘भारत पश्चिमी लदाख क्षेत्रको लाइन अफ कन्ट्रोलमा चिनियाँ सेनाको सम्बन्धमा हाई अलर्टमा रहेको समयमा काठमाडौं मित्र हुँदा यसले निश्चय नै सहयोग गर्छ ।’
प्रतिक्रिया