राजनीति

प्रधानमन्त्री देउवाको विगतदेखि वर्तमान,डडेल्धुराको विकट गाँउबाट ५ पटक प्रधानमन्त्री

को हुन देउवा ?


काठमाडौँ – सर्वोच्च अदालतको परमादेशसंगै शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएका छन् । अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन । देउवाले मंगलबार नै शपथका लिने तयारीमा छन । ज्योतीषले सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको चर्चा बीच पाँचौ पटक प्रधानमन्त्री बन्न सफल देउवा को हुन त ?

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दिएपछि देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् । नाम र बदनामी दुबै भएका तर राजनीतिमा कहिल्यै गुमनाम नभएका देउवा विशेष गरी ०४७ सालको परिवर्तनपछि राजनीतिक चर्चा र विवादको केन्द्र भागमा अनवरतरुपमा रहँदै आएका छन् ।

देउवाको जन्म विंस २००३ साल जेठ महिनामा डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला भन्ने ठाँउमा भएको थियो । पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेबीका जेष्ठ पुत्रका रुपमा जन्मिएका उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालयबाट लिएका थिए । निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका देउवाले एसएलसीपछिको अध्ययन भने काठमाडौँको त्रिचन्द्र क्याम्पसमा गरेका थिए ।

देउवाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । देउवा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । राजनीतिक यात्राका सन्दर्भमा देउवाले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसकेका थिए । त्रिचन्द्र पढ्दाताका नेविसंघभित्र राजनीतिमा सक्रिय भएका उनी यसक्रममा विभिन्न समयमा पटक पटक पक्राउ समेत परे । उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । देउवा पहिलो पल्ट २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बनेका थिए । उनी त्यस्ता भाग्यमानी नेता हुन जो गृहमन्त्री बनेको पाँच वर्षभित्रै मुलुकको प्रधानमन्त्री बन्न सफल बने । राजनीतिको धेरै उतार चढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थिए ।

कोइरालाले अघि बढाएका देउवाले २०५७ सालमा पोखरा सम्पन्न पार्टीको दशौ महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए तर सभापतीमा उनले कोईरालासंग हार व्यहोर्नु प¥यो । त्यतिबेला देशमा माओवादी जनयुद्धले उत्कर्षतर्फ लाग्दै थियो । कांग्रेस सरकारलाई राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो ।

यहिबीचमा एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजीनामा दिएका थिए । यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै काधमा आयो । त्यसपछि उनी पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बने । सुशील कोइरालालाई हराएर संसदीय दलको नेता बनेका उनी संसदमा पार्टीको बहुमत भएकाले दोस्रोपटक प्रधानमन्त्री बने । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम“को आरोप लगाई विघटन गरेका थिए । पछि ज्ञानेन्द्रले नै वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए । राजनीतिक घटनासँगसँगै विंस २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले ’शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाएर सत्ता आफ्नो हातमा लिए ।

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए । २०६२–६३ को दोश्रो जनआन्दोलनले संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुनः एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए । फलत देउवाले वि.सं. २०६४ सालमा आफ्नो पार्टी नेपाली कांग्रेससँग एकीकरण गराए र उनी वरिष्ठ नेतामा स्थापित भए । माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेर काम गरेका उनी वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर पार्टी नेतृत्व आफ्नो हातमा लिन सफल बने । ०६१ सालपछि करिव १३ वर्ष देउवा प्रधानमन्त्री भएनन् ।

उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बने । तर आफैँले गराएको चुनावमा कम्युनिष्टहरुको गठबन्धनले दुई तिहाई ल्याएपछि उनी प्रतिपक्षी दलको नेताको रुपमै चित्त बुझाउन बाध्य बने । तर ओलीले दोश्रो पटक संसद विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिटको फैसलासंगै अदालतले ४८ घण्टाभित्र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि देउवा पुनः प्रधानमन्त्री बनेका हुन ।
राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन् । प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउन बाध्य बने ।

युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो, फलत उनी देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए । गृहमन्त्री बनेपछि ४५ बर्षको उमेरमा राणा खानदानकी आरजु राणासंग विवाह गरेका देउवाका सन्तानमा एक छोरा जयबीर देउवा रहेका छन् ।