राजनीति

पाँच विद्यार्थी संगठनको भोलि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर सञ्चालन नगर्न चेतावनी


काठमाडौँ – पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनको चरणमा रहेको विद्यार्थी संगठनहरूले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन र पेट्रोलियन ढुवानी व्यवसायी महासंघलाई पत्रमार्फत ध्यानाकर्षण गराउँदै बुधवार असार ३० गते सम्पूर्ण पेट्रोल पम्प, डिलर्स र ट्याङ्करहरू सञ्चालन नगर्न चेतावनी दिएको हो ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा संगठनहरूले सम्पूर्ण सेवा सञ्चालन नगर्न आग्रह गर्दै बन्द नभए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एशोसियन र महासंघ आफैँ हुने जनाएको छ ।