राजनीति

जाँदाजाँदै ओलीले भने : संसद् चल्दैन, देशमा निर्वाचन पनि हुँदैन, देश द्धन्द्धमा फस्ने बाटोमा छ (भिडियोसहित)


काठमाडौँ – निवर्तमान  प्रधानमन्त्री केपी शर्मा ओलीले अब समयमै निर्वाचन हुनेमा शंका रहेको बताउनु भएको छ । राष्ट्रका नाममा मंगलबार सिंहदरबारबाट अन्तिम सम्बोधन गर्दै ओलीले समयमा निर्वाचन, संसद् र सरकार सही सलामत अगाडि बढ्नेमा शंका व्यक्त गरेका हुन् ।

‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’ उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ। राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’

देशका घटनाक्रम र पात्रले शंका उब्जिएको ओलीले बताए। ‘जे जस्ता घटना हुँदैछन्– संसद रहला, अब बन्ने सरकार सही–सलामत अगाडि बढ्ला शंकै छ। यसमा परिचित पात्रहरू छन्, ती पात्रका इतिहास र भूमिका देश र जनतालाई थाहा छ, मैले भनिराख्नु पर्दैन। आजको आवश्यकता एकताबद्ध भएर जानुपर्ने थियो । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधिनतालाई सबल बनाउँदै जानुपर्ने आवश्यक थियो । तर त्यस्तो हुन सकेन ।’