राजनीति

प्रधानन्यायाधीशलाई महेश बस्नेतको चुनौती : एमालेलाई हराउने भए कांग्रेस प्रवेश गरेर आउनुहोस्


काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडकमा विरोध प्रदर्शन गरेका छन् । सोमबार अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

सर्वोच्च अदालतको फैसलाको विरुद्धमा नेकपा एमालेको ओली पक्ष आन्दोलित बनेको छ । सर्वाेच्च अदालतको फैसला असंवैधानिक भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा ्विरोध प्रदर्शन भएको छ ।

ओली सरकार हटाएर देउवा सरकार आउने भएपछि ओली समर्थकहरुले अदालतमा कीर्ते हस्ताक्षर पेश गरि फैसला गरिएको भन्दै आक्रोश पोखेका छन् । नेकपा एमालेका नेता महेश बस्नेतले संवैधानिक इजलासबाट भएको फैसलाबारे प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाप्रति चर्को आक्रोश पोखे । बस्नेतले प्रधानन्यायाधीश राणाले जहानीया राणा शासनको शैलीमा फैसला गरेको आरोप लगाउँदै उहाँको थर राणा भएको भरमा राणा शासन नमान्ने’ चेतावनी समेत दिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक घण्टा नबित्दै एमाले निकटको युवा संघ सडकमा आएको हो । राजधानीको माइतीघरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध र केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए । पटक–पटक प्रधानमन्त्रीले संविधान विपरित काम गर्दा पनि ओली पक्षका नेताहरुले स्वागतयोग्य मानेका छन् । उनीहरुले सर्वोच्चको फैसलाले मुलुक द्वन्द्वमा प्रवेश गरेको दाबी गर्दै राजनीतिक द्वन्द्व निम्त्याउने फैसला आम जनताले नमान्ने बताउछन् ।

प्रधानमन्त्री ओलीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यस्तै जेठ ८ गते उनले दोस्रो पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको दुवै पटकको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन् । तर, जसरी फागुन ११ गते सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको थियोे सोमबार पनि सर्वोच्चले ऐतिहासिक फैसला सुनाएको छ ।