राजनीति

सर्वोच्चको फैसलामा हामी सहमत छैनौं, तर मानेर जानुको विकल्प छैन : नेम्वाङ


काठमाडौँ – एमाले नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको सहमति नभएको तर सो फैसला मानेर जानुको विकल्प नरहेको बताउनुभएको छ । साथै सर्वोच्चको फैसला गलत योजना र नियतका साथ आएको नेता नेम्वाङले टिप्पणी गर्नुभयो । साथै उहाँले गम्भीर परिस्थितिमा आएको फैसलालाई आफूले मसिनो ढंगले केलाएर हेर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘संविधान, संविधानका अभ्यास, संसारभर प्रचलित संसदीय प्रणालीका मूल्य र मान्यतामा धेरै प्रश्नहरु उठ्नेगरी फैसला आउनु गलत छ, हामी सहमत छैनौं ।’ तर पनि आफूहरुले विधिको शासनमा विश्वास गर्ने भएकाले यसलाई मानेर जानुको विकल्प नरहेको उहाँले औंल्याउनुभयो ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।