राजनीति

विचाराधीन मुद्दामा एमालेका २३ सांसद आफ्नो मान्यता र हस्ताक्षरमा दृढ छ : माधव नेपाल


काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक एकतासम्बन्धमा आइतबार राति भएको सहमतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित नहुने प्रस्ट पार्नुभएको छ ।


सहमतिकै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । थापाको अभिव्यक्ति कार्यदल स्तरमा भएको छलफलको मर्मविपरीत रहेको पनि नेपालले बताउनुभएको छ । नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानि गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी एमालेका नेपालपक्षका २३ सहित १४६ सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।