देश

ज्वाला संग्रौलासहित ४ जना विरुद्धको अभियोगपत्र जिल्ला अदालतमा


काठमाडौँ – प्रहरी कार्यालयमा रंगभेदी बोली बोल्ने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौलासहित ४ जना विरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा दर्ता भएको छ । आइतबार अभियोगपत्र दर्ता गरिएको जिल्ला अदालत काठमाडौंका प्रमुख गंगा पौडेलले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंले टिका संग्रौला ‘ज्वाला’, उनका पति हिमालप्रसाद उपाध्याय र शर्मिला वाइवा भन्ने शर्मिला राईलाई असार ६ मा पक्राउ गरेको थियो ।

उनीहरुकै समूहमा रहेका दोलखाका यमबहादुर खड्कालाई पनि प्रहरीले पक्रेर अनुसन्धान गरेको थियो । सो समूहमाथि युवा संघकी केन्द्रीय सदस्य नविता घिमिरे ‘खुश्वु’ लाई हातपात गरेको अभियोग छ । उनीहरुले घट्टेकुलोस्थिन खुश्वुको निवास र महानगरीय प्रहरी वृत्त गौशालामा हातपात गरेका थिए । जेठ १४ मा भएको सो झगडाको विषयमा पक्राउ गरेर अनुसन्धान गर्दा टिका संग्रौलाका दम्पतीले नक्कली विवाह दर्ता बनाएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताउनुभयो ।

संग्रौलाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातीय विभेद गरेकी थिइन् । संग्रौला दम्पतीमाथि सरकारी वकिल कार्यालयले लिखत सम्बन्धी कसुर, अभद्र व्यवहार र जातीय विभेद विरुद्धको कसुरमा कारवाही हुन मागदावी लिएको छ ।