राजनीति

सर्वोच्चको संसद विघटनसम्बन्धी फैसला अघि पार्टी एकता हुँदैन : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको (प्रतिनिधिसभा विघटनसम्बन्धी) फैसला अगाडि पार्टी एकता हुन नसक्ने बताउनुभएको छ । आइतबार आफ्नो निजी निवासमा केही केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा नेता नेपालले पार्टी एकताका लागि २ वटा ‘मान्यता’ अगाडि सार्नुभएको हो ।

आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भन्नुभयो, ‘एकताको सन्दर्भमा त माधव कमरेडका २ वटा मान्यता स्पष्ट छन्– एउटा सर्वोच्चको फैसला अगाडि एकता हुँदैन, अर्को समानतामा आधारित मात्रै सम्झौता हुन्छ, तल परेर हुँदैन ।’ कहिँ न कहिँ ‘करेक्सन’ हुनुपर्ने भन्ने माग पनि नेता नेपालको रहेको खतिवडाले बताउनुभयो ।

खतिवडाका अनुसार आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा करिब २५ जनाजति केन्द्रीय सदस्यहरु ‘भेला’ भएका थिए । छलफलका क्रममा पार्टी एकताका लागि भइरहेका प्रयास तथा एकता कार्यदलको काम–कारबाहीबारे पनि समीक्षा भएको थियो ।