देश

एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले अझै परिणाम दिन सकेन, के गर्दै छ कार्यदल ? (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले अझै परिणाम दिन सकेको छैन । कार्यदलको बैठक एक साता निरन्तर जारी रहँदै आएको छ । तर दैनिक जसो सुखद खबर आउने म्याद तोक्ने सदस्यहरुले ठोस परिणाम कहिले आउछ प्रष्ट पार्न सकेका छैनन् । यद्यपी सहमती नजिक पुगिएको दाबी गर्न भने छाडेका छैनन् । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदल जोडतोडका साथ लागेपनि विवाद समाधानमा अझै ठोस निर्णय हुन सकेको छैन ।

आइतबारदेखि ब्यूँतिएको कार्यदलले प्रत्येक दिन भएका वार्ता र छलफलमार्फत सहमति खोज्ने प्रयास गरेको छ । जसबाट केही सहमति पनि भएका छन् । हालसम्म भएका सहमतिहरुमा पार्टी संरचनाहरुलाई २०७५ जेठ २ बाट सक्रिय बनाउने, २४१ सदस्यीय केन्द्रीय सदस्यलाई मान्यता दिने, माओवादी केन्द्रबाट आएका नेताहरुलाई विधि पु¥याएर केन्द्रीय कमिटीमा राख्ने, पार्टी र संसदीय दललाई संस्थागत रुपमा चलाउने, पार्टी एकता विपरित रहेका निर्णयहरु कार्यान्वयन नगर्ने र आवश्यकता पर्दा विधान महाधिवेशन गर्ने सहमति भएको छ । तर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ सांसदले गरेको हस्ताक्षर फिर्ता गर्न माधव पक्ष सहमत नभएपछि यो विषय बन्द भएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रभावित पार्ने गरी सहमति नगर्ने विद्रोही नेता माधवकुमार नेपालको अडान छ । त्यस्तै नेपालले आफ्नो भूमिका प्रष्ट हुनपर्ने अडान राखेपछि कार्यदल ठोस परिणाममा पुग्न सकेको छैन । कार्यदलले ‘सहमतिका लागि ९ वटा बुँदा’ तयार पारेको बताइएको छ । जसमा समेटिएको भूमिकाबारे बुँदामा आफ्नो भूमिकाबारे स्पष्ट उल्लेख हुनुपर्ने नेपालको माग छ । तर ओली भने नेपाललाई कुनै स्पष्ट भूमिका नदिने पक्षमा छन् । फलत आइतबार सबैले सुखद खबर सुन्न पाउने ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्बाङको दाबी फेल भएको छ ।

दोश्रो तहका नेताहरु यसअघिबाटै एकताको पक्षमा छन् । विभिन्न समयमा ओलीले अल्टिमेटम दिँदै नेपाललाई धम्काईरहँदा तथा नेपालले उत्तर नै नदिइ पन्छिरहँदा धेरै चोटि एमालेमा वारपार हुनेहुने अवस्था पनि आएको थियो । विवाद समाधानका लागि बनाएको कार्यदल पनि यो बीचमा मृतप्राय बन्यो । कार्यदलमा रहेका खनाल–नेपाल पक्षका संयोजक भीम रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि जेठ २ मा कार्यदल बनाइएको थियो । जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बैठक बस्न सकेको थिएन ।

कार्यदल गत आइतबार राति अध्यक्ष केपी ओली र नेता भीम रावलबीच भएको गोप्य भेटवार्तापछि क्रियाशील भएको हो । भेटमा ओलीले कार्यदलबाट एकताको प्रस्ताव तयार गरेर ल्याउन आग्रह गरेपछि पछिल्ला दिनहरुमा कार्यदल कम्मर कसेर लागेको छ भने शुभ समाचार आजै आउने भोलि नै आउने भन्दै मिति सार्दै आएको छ । यो समस्या आफ्ना माग नगदमा पुरा हुनुपर्ने तर अर्कोको माग पुरा गर्न उधारो बाचा गर्ने कारण भएको विश्लेषकहरु बताउछन ।

नेपाल र ओलीमा देखिएको विश्वासको अभावका कारण पनि विवाद समाधानमा समस्या देखिएको छ । तर विवाद कायम रहे सबै सकिने भय र दोश्रो तहका नेताहरुको दवावका कारण एकता दुबैका लागि बाध्यकारी समेत बन्दै गएको छ । फलत ढिलोचाडो एकता नहोला भन्न सकिन्न । यद्दपी दुई शीर्ष नेता बाध्य बनाउने विन्दु पहिल्याउन कार्यदललाई भने सकस पर्ने देखिएको छ ।