राजनीति

सबै नागरिकले कोरोनाको खोप पाउने प्रधानमन्त्रीको दाबी, नागरिकमा जाग्यो आशा


काठमाडौँ – कोरोनाका नयाँ नयाँ भेरियन्टले आम नागरिक त्रसित बनेका बेला सरकारले खोप खरिदमा देखाएको क्रियाशिलताले केही आशा जगाउन थालेको छ । कोरोनासँग जुध्न खोप नै अन्तिम विकल्प बनेका बेला खोपमा भएको ब्रेक थ्रुले नागरिकमा खोप पाउने आशा जगाएको हो ।प्रधानमन्त्री स्वयमले पनि सन् २०२१ भित्र सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाईसक्ने दाबी गरेका छन् ।

खोप खरिद प्रक्रियामा पछिल्लो समय सरकार अग्रसर बनेको छ । चिनियाँ कम्पनीसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप बिहीबारदेखि ल्याउन सुरु भैसकेको छ । असार २५ देखि ल्याउन सुरु गरिएको खोप साउन ८ गतेसम्म नेपाल वायु सेवा निगमले ३० लाख मात्रा खोप ल्याईसक्ने छ । यस्तै अमेरिकाबाट प्राप्त १५ लाख डोज खोप पनि नेपाल आउँदै छ । निषेधाज्ञा हटिसकेपछि कोरोनाको जोखिम थप बढिरहेका बेला सरकारले देखाएको यस सक्रियताले नागरिकमा भने खोप लगाउने पाउने आशा जगाईदिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईसक्ने गरि सरकारले प्रयास अघि बढाएको दाबी गरेका छन् । सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको उनको दाबी छ । भ्याक्सिनको अभावबाट कोही पनि अब तड्पिन पर्ने स्थिति आउन नदिने प्रधानमन्त्री ओलीले आश्वासन दिएका छन् ।

त्यसोत जनस्वास्थ्य विद्हरुले पनि कोरोना संक्रमणबाट बच्ने खोपमै जोड दिनुपर्ने बताउँदै आइरहेका छन् । सरकारले पनि यस विषयलाई ढिलै भएपनि चासोको रुपमा हेरिरहेको छ । सबैलाई खोप लगाएर सुरक्षित राख्ने प्रयासमा सरकार लागेको भएपनि विश्वभर कोभिड अन्त्य नभएसम्म सबैले सजगता अपनाउनुपर्नेमा भने प्रधानमन्त्रीको जोड रहेको छ ।

कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिरहेको अहिलेको अवस्थामा सरकारको यस सक्रियत र प्रधानमन्त्रीको दाबीले नागरिकमा केही आशा र आत्माविश्वास भने जगाएको छ ।।
लीलामाया ठटाल काठमाडौं ।