कोरोना विशेष

निषेधाज्ञा खुकुलो भएपनि पसलमा ग्राहक नआउँदा व्यापारीहरु उदास(भिडियोसहित)


काठमाडौँ – निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौं उपत्यकमा व्यापार व्यवसायहरु सञ्चालमा आएका छन् । तर,ग्राहक नआउँदा विभिन्न ठाउँका व्यापारी उदास मुद्रामा भेटिन्छन् । बाहिर भीडभाड भए पनि व्यापार नभएको व्यापारीको गुनासो छ । कोरोना नियन्त्रणको लागि जारी निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौँका अधिकांश बजार खुलेका छन् ।

संक्रमणको त्रासकाबीच बजार खुले पनि व्यापार नहुँदा व्यापारी निराश छन् । कुनैवेला भ्याइनभ्याइ हुने काठमाडौंका अधिकाश व्यापारीक केन्द्रमा व्यवसायीहरु ग्राहकको प्रतीक्षा गरेर बसेको अवस्थामा भेटिन्छन् । गत वर्षको झण्डै ६ महिना लकडाउनले थलिएका व्यापारीहरुले यो वर्ष पनि निषेधाज्ञा कारण करिव दुई महिना पसल बन्द गर्नु प¥यो । अहिले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, फ्रिज लगायतको व्यापार ठप्प नै छ । निषेधाज्ञा खुला भएसँगै बजारमा मानिसको चहलपहल बढे पनि व्यापार नभएको व्यवसायीको भनाइ छ ।

यतिबेला अधिकांश व्यापारीको अवस्था यस्तै कहालीलाग्दो छ । उनीहरू घरभाडा र पारिवारिक खर्चले नराम्ररी थिचिएका छन् । व्यापार नहुदा भाडा कसरी तीर्ने भन्ने चिन्तामा छन् । सरकारले कर छुट दिए पनि आफुलाई थोरै राहत मिल्ने उनीहरु बताउँछन् । तर,राज्य यस्तो संकटको समयमा जिम्मेवार बन्न नसकेको व्यापारीहरुको गुनासो छ ।

कोरोना संक्रमणको त्राससँगै लागेको लकडाउनका कारण धेरै मानिसको आयस्रोत घटेको छ । उनीहरूलाई दैनिक उपभोग्य सामग्रीको जोहो गर्न नै कठिन परको अवस्था छ । यहिबेला कोरोनाका नयाँ नयाँ भेटियन्टले आतंक मच्चाइरहेका छन् । जस्ले मानिसमा उत्साह पैदा हुन सकेको छैन । त्यसैले पनि बजारमा उल्लेख्य रूपमा व्यापार हुन नसकेको बुझ्न सकिन्छ ।