राजनीति

रामचन्द्र पौडेलको त्याग–दोस्रो तहलाई सभापति बनाउन तयार, देउवालाई रोक्न नसक्ने संस्थापनको दाबी


काठमाडौँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पहिलो र दोस्रो पुस्ताका नेताहरु मुख्य प्रतिस्पर्धामा छन् । नेतृत्व पुस्तान्तरणका लागि महत्वपूर्ण मानिएको १४ औं महाधिवेशनमा शीर्ष तह नै मैदानमा उत्रिएपछि दोस्रो तहका नेताका लागि थप चुनौति थपिएको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व पुस्तान्तरणमा समर्थन गर्ने आशय व्यक्त गरेपछि संस्थापन इत्तरका नेतामा केही आशा पलाएको देखिन्छ । कांंग्रेसमा नेतृत्व पुस्तारन्तणको बहस चलिरहेका बेला शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको अभिव्यक्तिले दोस्रो तहका नेताहरुलाई आशावादी तुल्यायो ।

राजनीतिक यात्राको ६ दशक पार गरेका पौडेलले यो आफ्नो अन्तिम अवसर भएकाले अन्तिम पटक सभापतिमा समर्थन गर्न यसअघि आफू पक्षिय नेताहरुलाई आग्रह गर्दै आएका थिए । तर शनिबार पौडेलले चित्तबुझ्दो कारणसहित दोस्रो पुस्ता अघि सरे आफु पछि हटेर समर्थन गर्न तयार रहेको बताए । गत निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको र प्रमुख प्रतिपक्ष दलको भूमिकामा पनि कमजोर सावित भएपछि सभापति शेरबहादुर देउवाको विकल्प खोज्नै पर्ने आवाज नेपाली कांग्रेसभित्र उठ्दै आएको छ । जसको उपयुक्त विकल्प बनेको थियो, १४ औं महाधिवेशन ।

आगामी भदौं १६ देखि १९ सम्मलाई कार्यतालिका तय भएको महाधिवेशनमार्फत सभापति देउवाको विकल्प खोज्न दोस्रो तहका नेताहरु पार्टीभित्रको समीकरण नै तोडेर लागिपरेका छन् । तर सभापतिका लागि पुनः ७६ वर्षीय देउवाले उम्मेद्वारी घोषणा गरेपछि उनलाई टक्कर दिन ७७ वर्षीय वरिष्ठ नेता रामचन्द्र पौडेल पनि अघि सरे । जसले १३ औं महाधिवेशनका मुख्य प्रतिस्पर्धि पुनः मरिमेटी लागेपछि दोस्रो तहका नेताहरुको नेतृत्व पुस्तान्तरण गर्ने सपनामाथि तुषरापात ग¥यो । तैपनि नेताहरु हटेर भन्दा डटेर शीर्ष तहबाट नेतृत्व हत्याउने दाउमा छन् । यसका लागि औपचारिक–अनौपचारिक कोठे बैठक बसिरहेका नेताहरुले शीर्ष तहलाई मनाएर अभिभावकत्व लिन आग्रह गरिरहेका छन् । शुक्रबार पौडेल पक्षका ६ जना सभापतिका आकंक्षीहरु एउटै टेबलमा बसेर सहमतिको प्रयास गरेका थिए ।

बैठकमा सबैले आ–आफ्नै दाबी रहेपनि देउवाको विकल्प खोज्न एक भएरै जानुपर्नेमा सबै एकमत थिए । त्यसयता निरन्तर गृहकार्यमा रहेका नेताहरुले वरिष्ठ नेता पौडेललाई फकाउन सफल भएको कतिपय नेताहरु बताउँछन् । जसकै कारण पौडेलले शनिबार सहमति भए समर्थन गर्न तयार रहेको बताएका हुन् । तर आसन्न महाधिवेशनबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण नभए कांग्रेसको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा हुने बहस भइरहेका बेला सभापति देउवा भने यसका लागि तयार देखिदैन । प्रतिद्धन्द्धीले युवाहरुलाई प्रसय दिइरहेका बेला संस्थापन पक्ष भने सभापतिमा देउवाको विकल्प नभएको बताउँछ ।

देउवा पछि नहटेकै कारण हालसम्मको राजनीतिक सहयात्रामा विश्वास पात्र बनेर समर्थन गर्दै आएका उपसभापति विमलेन्द्र निधि विद्रोही बनेर निस्किएका छन् । १३ औं महाधिवेशनमा देउवाको साथ पाउने आश्वसन पाएका निधिलाई देउवाले समर्थन गर्नुको सट्टा प्रतिस्पर्धिमै थन्काएपछि उनी संस्थापनइतर पक्षसंग समीकरण बनाउने कसरत गरिरहेका छन् । यसले संस्थापनइतर पक्षमा पौडेलले आफ्नो अन्तिम अवसरलाई तिलाञ्जली दिएर दोस्रो तहका नेताहरुलाई सघाउन अघि बढीरहँदा पुस्तान्तरणको सवालमा देउवा नै बाधक देखिने भएका छन् । परिस्थति प्रतिकुल बन्दै गएको वर्तमान अबस्थामा सभापति देउवा पनि दोस्रो तहका नेतामा नेतृत्व हस्तान्तरण गर्न तयार होलान् त ?