राजनीति

जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट, एकीकरण नै त्रुटीपूर्ण रहेको दाबी

असार ३० गते प्रारम्भिक सुनुवाइ हुने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आइतबार अधिवक्तासमेत रहेका तत्कालीन राजपाका उपाध्यक्ष राजकुमार थापा र हृदयराज मिश्रले तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी नेपाल मिलेर बनेको जसपा खारेजीको माग गर्दै अदालतमा रिट हालेका हुन् ।

उनीहरूले रिट निवेदनमा निर्वाचन आयोग, जनता समाजवादी पार्टी नेपाललाई विपक्षी बनाई उत्प्रेषण, परमादेशलगायतको आदेश जारी गर्न माग गरेका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीचको एकता नै संवैधानिक नभएको उनीहरूको दाबी छ । रिट निवेदनमाथि असार ३० गते प्रारम्भिक सुनुवाइ हुने रिट निवेदक अधिवक्ता थापाले जानकारी दिनुभयो ।