राजनीति

निर्वाचन आयोगको निर्णय : नेकपा माओवादी केन्द्र वैधानिक


काठमाडौँ – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगको निर्णयमा भनिएको छ ‘‍‍‍‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ । हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिनुभएको थियो ।

त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले दिएको निवेदनमा आयोगले उनी अध्यक्ष भएको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता नभएको भन्दै उनले अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको बताएको छ ।