राजनीति

एमाले सांसदद्वारा गण्डकी प्रदेश सभा बैठक अवरुद्ध


काठमाडौँ – सरकारले आर्थिक वर्ष सकिनै लाग्दा गरेको गैर बजेटरी विनियोजनको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । गण्डकीका मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गते सदनमा पेश गरेको बजेटमाथि छलफल गर्न आइतबार प्रदेश सभा बैठक बोलाइएको थियो ।

एमाले सांसद एवं पूर्वभौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले असार दोस्रो साता सरकारले गरेको गैरबजेटरी विनियोजनको फेहरिस्त माग्नुभएको थियो । के कारणले बजेट रकमान्तर गर्नुपर्‍यो ? योजना कसरी छनौट भए ?’ बैठक अवरुद्ध गर्नुअघि संसदमा बस्नेतले भन्नुभएको थियो, ‘गैरबजेटरी विनियोजनको फेहरिस्त नआउँदासम्म यो सदन अघि बढ्न सक्दैन ।’

सरकारले गठबन्धनका सांसदहरुका मागका आधारमा असार दोस्रो साता एक सय ५० योजनामा १४ करोड १९ लाख विनियोजन गरेको थियो । रातो किताबमै नभएका नयाँ योजनामा बजेट विनियोजन गरेको भन्दै विपक्षी दल एमाले असन्तुष्ट बनेको छ । मुख्यमन्त्री पोखरेलले असार १ गते नै सदनमा बजेट पेश गरेपनि अहिलेसम्म छलफल हुन सकेको छैन ।