राजनीति

काँग्रेसको पौडेल पक्षमा भाँडभैलो, सबैको एउटै अडान–‘म नै सभापतिमा उत्तम छु’


काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन हुने/नहुनेमा पदाधिकारीहरु नै अलमलमा छन् । तर सभापतिका लागि दौडधुप भने महाधिवेशनका अन्य तयारी भन्दा तीव्र गतिमा छ । सभापतिको उम्मेद्वारमा सहमति जुटाउन भने संस्थापनइतर पक्षमा बढी चुनौति देखिन्छ ।

नेपाली कांग्रेसभित्र अहिले एउटै प्रश्न घुमिरहेको छ, त्यो हो कसलाई सभापतिको उम्मेद्वार बनाएर अघि बढ्ने भन्ने?सभापतिका लागि संस्थापन पक्ष लगभग टुङगोमा पुगिसक्दा संस्थापनइतर पक्ष भने नेताहरुको व्यवस्थापन र एउटै उम्मेद्वार बनाएर जाने विषयथप अन्योलको भूमरीमा फसेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि पक्का उम्मेद्वार बनिसकेका छन् । तर संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाआ–आफ्नै दाउमा छन् ।शुक्रबार पहिलो पटक संस्थापनइतर पक्षबाट सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेर छलफल चलाए ।नेतृत्व परिवर्तनका लागि एउटै उम्मेद्वार घोषणा गरेर अघि बढ्नुपर्नेमा सबै सहमत भए, तर देउवालाई हराउन आफु नै उम्मेदवार हुनुपर्ने दलिल पनि सबैले पेश गरे ।

संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा यो नै आफ्नो अन्तिम अवसर भएकाले एकपटक पार्टी सभापति हुनै पर्ने अडानमा छन् । महामन्त्री शशांक कोइरालाले सभापतिमा देउवालाई हराउन सक्ने आफू मात्र भएकोले आफु नै हुनुपर्ने दाबी गर्छन ।पूर्वमहामन्त्री प्रकाशमान सिंहले सबैलाई मिलाएर लैजान सक्ने ताकत आफुसंग भएकाले आफ्नो दाबी स्वभाविक हुने बताउँछन् । महामन्त्री र उपसभापतिको जिम्मेवारीलाई पार लगाइसकेकाले सभापतिमै आफ्नो दाबी हुने उनको भनाई छ । उस्तै भनाई डा. शेखर कोइरालाको पनि छ । सभापतिका लागि आफु धेरै अगाडी बढीसकेको भन्दै आफ्नो पक्षमा राम्रो माहोल बनेकाले आफुनै सभापति हुनुपर्ने उनको दाबी छ ।कोइराला परिवारकै सुजाताले महिला सभापति पाउनु कांग्रेसका लागि गर्व विषय हुने भन्दै आफ्नो दाबी पेश गरिरहेकी छन् । संस्थापनइतर पक्ष आआफ्नै तरिकाले अगाडि बढ्न खोजेपछि कतिपय नेताहरु एउटै उम्मेद्वार बनाएर जानुपर्नेमा गृहकार्य गरिरहेका छन् ।

उम्मेद्वारी नै घोषणा नगरेपनि नेता कृष्णप्रसाद सिटौलासमेत सभापतिको आकंक्षी देखिएका छन् । पार्टीभित्र तेस्रो पक्षको नेतृत्व गरिरहेका सिटौला १३ औं महाधिवेशनमा सभापतिमा भिडेका थिए ।त्यसयता कहिले पार्टी सभापति देउवा त,कहिले वरिष्ठ नेता पौडेल पक्षतिर नजिक देखिएका उनको आफ्नै अस्तित्व रक्षाको प्रश्न अहम् बनेपछि अहिले संस्थापनइतर पक्षमा क्रियाशिल छन् ।क्रियाशिल सदस्यता लगायत अनेक चुनौतीका घेराबन्दीबीच भदौभित्र १४ औं महाधिवेशन हुने नहुने निश्चित छैन, तर नेताहरु सभापतिकै दौडमा केन्द्रीत बनेका छन् ।

नेतृत्व पुस्तान्तरणका लागि महत्वपूर्ण मानिएको १४ औं महाधिवेशनमा शीर्ष तहको विकल्प खोज्नुपर्नेमा दोस्रो तहका नेताहरु सहमत छन् ।तर ७६ वर्षीय देउवालाई चुनौती दिन ७७ वर्षीय पौडेल अघि सरेपछि दोस्रो तहका ६३ वर्षीय शशांक, ६५ वर्षीय निधि, ६६ वर्षीय सिंह, ६७ वर्षीया सुजाता, ७१ वर्षीय शेखर र ७२ वर्षीय सिटौलाले पछि परेका छन् ।यद्यपीबुढाहरुको नेतृत्व खोज्न अघि बढेकाहरु नै ६० कटेकाहरु भएपछि नेतृत्वका लागि कांग्रेस युवाहरुको पार्टी होइन र हुन सक्दैन भन्ने प्रमाणित भएको छ ।