राजनीति

देउवाविरुद्ध एकल उम्मेदवार उठाउने तयारी, पात्रमा भने सहमति जुट्न बाँकी


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा सभापतिको उम्मेदवारबारेमा छलफल सुरु भएको छ । पार्टी सभापतिका लागि धेरै आकांक्षीहरु देखिएपछि रामचन्द्र पौडेल पक्षले एकल उम्मेदवार बनाउनेबारे छलफल सुरु गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले यो पटक पनि सभापतिमा दाबी नछोड्ने घोषणा गरेपछि उनीबाहेकका नेताहरु एक भएर उनको प्रतिस्पर्धीका लागि बलियो एकल उम्मेदवार बनाउने पौडेल पक्षको तयारी छ । आज संघीय राजधानीमा भेला भएर पौडेल पक्षले सहमति जुटाउने प्रयास गरेको हो ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत सहभागी थिए । नेता केसीले संस्थापनइतर पक्षबाट सभापतिमा दाबी गर्ने नेताहरुको बैठक बोलाएका थिए । छलफलमा एक भएर संस्थापन पक्षसँग महाधिवेशनमा प्रतिष्पर्धा गर्ने सहमति भए पनि सभापतिमा कस्लाई अगाडि सार्ने भन्ने विषय भने टुङ्गिएको छैन ।