राजनीति

राजपा नामको अर्काे पार्टी आयोगमा दर्ता


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर निकटस्थ समूहले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । ठाकुर निकट रहेको पक्षले राष्ट्रिय जनता पार्टी (राजपा) नाममा नयाँ दल दर्ता गराएको हो ।

पार्टी एकीकरण भएको तीन सय ६६ औँ दिन पछि राजपा नाममा अर्काे दल फेरि दर्ता भएको छ । तत्कालीन राजपा र संघीय समाजवादी पार्टी एकीकरण भई जसपा बनेको थियो । स्रोतका अनुसार दर्ता गरेको पार्टीले आयोगमा १५ सय ४८ दर्ता नम्बर पाएको छ।

२१ सदस्यीय रहेको केन्द्रीय कमिटीमा जसपा अध्यक्ष ठाकुरसँग निकट धनुषाका हरिनारायण यादव अध्यक्ष छन् । कानूनी प्रावधान अनुसार नै वर्षदिन कटेपछि राजपा नाममै दल दर्ता गरिएको हो। कुनै पार्टी एकीकरण भएर निष्क्रिय बनेको एक वर्षसम्म सोही नाममा दल दर्ता गर्न नपाइने कानूनी प्रावधान रहेको छ ।

तत्कालीन राजपाको चुनाव चिह्न छाता जसपाले पाइसकेको छ । सोही कारण नयाँ दलले ‘पञ्जा’ चुनाव चिह्न दाबी गरेको छ। राजपा नाममा नयाँ दल दर्ता गराएको यादवले पुष्टि गरे ।