राजनीति

ठगीको आरोपमा पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी


काठमाडौँ – पूर्वमन्त्री प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौँकी दीपा केसी (कुँवर) ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताउनुभयो । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको लेनदेनको ठोस प्रमाण भने उल्लेख नगरिएको एसपी बस्नेतले बताउनुभयो ।

प्रहरीमा उजुरी दिएकी दीपाले पूर्वमन्त्री साहले आफूबाट पटक–पटक गरी ३० लाख ५० हजार रुपैयाँ लिएको र १० लाख ५० हजार मात्रै फिर्ता गरेको दाबी गरेकी छन् । फिर्ता भएको रकम पनि तत्कालीन सहरी विकास सचिव रमेश सिंहमार्फत आफूले लिएको दीपाको जिकिर छ । तर, प्रहरीमा दर्ता भएको निवेदनमा आरोपित बनाइएका पूर्वमन्त्री साहले दीपासँग आफ्नो कुनै लेनदेनरआर्थिक कारोबार नै नभएको दाबी गरे ।

असार २१ मा दीपाले साहविरुद्ध हातपात र ठगीमा उजुरी दिएको बताएकी छन् । तर, साहले आफूले उनलाई कुनै हातपात नगरेको दाबी गरेका छन् । एसपी बस्नेतले उजुरीमा आरोपित बनाइएका व्यक्तिविरुद्ध ठोस प्रमाण नखुलेको बताउनुभयो । ‘प्रमाण खुलेमा सुक्ष्म रुपमा अनुसन्धान अघि बढाउछौं, अहिले त्यस्तो कुनै तथ्य, प्रमाण र आर्थिक कारोबार भएको कागजात केही खुल्दैन,’ ।