राजनीति

मोरङमा ओली पक्षले थाल्यो सदस्यता नवीकरण, नेपाल पक्षको आपत्ति


काठमाडौँ – मोरङमा नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टी एकताको भावना विपरीत सदस्यता नवीकरण सुरु गरेको छ । केन्द्रमा पार्टी एकताको प्रयास भइरहँदा मोरङमा ओली पक्षले पार्टी सदस्यहरुको सदस्यता नवीकरण सुरु गरेको प्रति वरिष्ठ नेता माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।

पार्टी संरचना जेठ २ मा फर्किने विषयमा सहमतिको खोजी भइरहेका बेला एकपक्षीय रुपमा ओली पक्षले सदस्यता नवीकरण सुरु गरेको नेपाल पक्षका नेता महेश रेग्मीले बताउनुभयो । एकताको वातावरण बिथोल्ने कामको सुरुवात मोरङबाट हुन थालेको उनको भनाइ छ । रेग्मीले अहिले नेकपा एमालेको नाममा भएको निर्णय अवैधानिक भएका बताउनुभयो ।

जेठ २ को संरचनामा रहेर पार्टीको बैठक समेत नबसेको अबस्थामा एकतर्फी रुपमा सदस्यता नवीकरणको प्रकृयालाई अगाडि बढाउने निर्णयले पार्टीलाई एकतावद्ध बनाउने बिषयमा समस्या उत्पन्न गर्ने बताउनुभयो । नेता रेग्मीले केन्द्रमा वार्ता र छलफल भइरहेको बेला हतारमा एकताको प्रयासलाई भाँड्ने गरी पार्टीको गतिविधिलाई अगाडि बढाउने काम त्रुटिपूर्ण रहेको बताउनुभयो ।

यस्ता निर्णयले एकताको वातावरण बनाउने भन्दापनि भाँड्न मद्दत पुग्ने रेग्मीको भनाइ छ । एमाले मोरङमा माओवादी केन्द्रसँग एकता पूर्व २३ हजार पार्टी सदस्य थिए । माओवादीसँग एकता गरेपछि ३६ हजार पार्टी सदस्य पुगेका थिए ।

२०७२ सालमा भएको जिल्ला अधिवेशन पछि कसैको पनि पार्टी सदस्यता नवीकरण गरिएको छैन । माओवादी र एमालेलाई अदालतको फैसलाले अलग गराइ दिएपछि एमालेसँग कति सदस्य कायम छन् भन्ने यकिन विवरण पनि छैन ।

नेकपा एमालेले प्रति वर्ष २४० रुपैयाँका दरले सदस्यता नवीकरण शूल्क लिने गरेको थियो । अहिले पार्टी सदस्यता नवीकरण गर्दा हरेक सदस्यले एकमुष्ट १ हजार ६४० रुपैयाँ तिर्नुपर्छ । केन्द्रीय सर्कुलरको समेत जानकारी गराउँदै एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारित समयभित्र सदस्यता नवीकरण तथा अधिवेशनहरू सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पालिका कमिटीका अध्यक्ष र सचिवहरु समेतको सहभागिता रहेको बैठकले पार्टी सदस्यता नवीकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो । गत शनिबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्ने निर्णय गरेको थियो ।

साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई एमालेको निर्देशन छ । आसन्न भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने एमालेको कार्यतालिका छ ।