समाचार

कैलालीमा ३ वर्षे बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ


काठमाडौँ – बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीद्वारा दुई किशोरी पक्राउ परेका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको बताउनुभयो ।

घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो । १५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ती युवतीले पारिवारिक रिसिइबीका कारण बालकको हत्या गरेकी हुन् ।

घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताउनुभयो । लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।