राजनीति

देउवाले पार्टी कब्जा गर्न खोजेको पौडेल पक्षको आरोप, कडा ढंगले प्रस्तुत हुन नेतृत्वलाई आग्रह


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको आरोप लगाएको छ । पौडेल पक्षका नेताहरूको विहीबार बसेको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको हो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल लगायतले आज छलफल गरेका थिए । छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए ।

समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङसमेत बैठकमा थिए । बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन् ।