राजनीति

जनताको प्यारो पार्टी नेकपा एमालेमाथि ढुङ्गा हाँनिदैछ : दल रावल

एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो


काठमाडौँ – कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १५औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ । लगातार बैठक अवरुद्ध गर्दै आएको एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ । बिहीबारको बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको बारेमा कुरा राख्नुभएको थियो ।

उहाँले भन्नुभयो ,‘हाम्रो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको छ । योतर्फ सरकारको ध्यान किन छैन ? ३९ सिट रहेको प्रदेशसभामा २० सिट एमालेको हुँदा हुँदै पनि १८ सिट रहेका दुईटा दलहरुले सरकार चलाइरहेका छन् ।’ नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो भनेर उहाँले प्रश्न गर्नुभयो । रावलले जनताको प्यारो पार्टी नेकपा एमालेमाथि ढुङ्गा हाँनिदैछ भनेर आक्रोस पोख्नुभयो । झण्डै १४ मिनेट चलेको सदनमा रावलले ११ मिनेट जति आफ्नै पार्टीको गुनगान गाउनेदेखि ओलीले गरेको कामको प्रशंशा मात्र गर्नुभयो ।

त्यसपछि उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै आजको सदनको कामकारबाही अघि बढ्दैन भनेर आफ्नो भाषण टुङ्ग्याएपछि प्रतिपक्ष दल रोष्टममा विगत जस्तै उभिरह्यो । सभामुखले पटक–पटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि सभामुख शाहीले असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।