देश

सुजिता मृत्यु प्रकरण : सय जनाभन्दा बढी अनुसन्धानको दायरामा, अभियन्ताले गर्दा काम गर्नमा समस्या



काठमाडौँ – पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ । भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गरी शंकास्पद व्यक्तिसँग सोधपुछको काम भइरहेको जनाएको छ । प्रहरी उपरीक्षक (एसपी) ओमप्रकाश अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्‍यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।’

अभियन्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानको कामलाई अप्ठ्यारोमा पारेको एसपी अधिकारीले बताए । उनले थपे, ‘शव परीक्षणका लागि ल्याउने समयदेखि नै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो । आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् ।’ भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने एसपी अधिकारीको भनाइ छ ।

एसपी अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाको पछि नदौडिन समेत आग्रह गरेका छन् । ‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ,’ उनले भने । अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको अधिकारीले बताए । शव भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए ।

अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली कुकुरसहित खटिएको छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र मृतकका आफन्तसँग सोधपुछको काम गरिरहेको एसपी अधिकारीले बताए । उक्त क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मंगलबारबाट कर्फ्यू जारी गरेको छ ।  ‘अनुसन्धानमा खटिनुपर्ने प्रहरी कर्फ्यू व्यवस्थापनमा खटिनु परेको छ’, उनले थपे । असार ११ गतेदेखि हराइरहेकी सुजिताको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो ।