विदेश

मोदीद्वारा मन्त्रिमण्डल पुनर्गठन : युवा, पिछडिएको वर्ग र विज्ञलाई प्राथमिकता


काठमाडौँ – भारतको मन्त्रिमण्डल पुनःगठन गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रिपरिषदमा फेरदबल गरेका हुन् ।

मोदी सरकारमा थपिएका ४३ सदस्यले बुधबार साँझ ६ बजे शपथ खाएका छन्। जसमा १५ मन्त्री र २८ राज्यमन्त्री छन् ।
योसँगै मोदी नेतृत्वको मन्त्रिपरिषद् ७७ सदस्यीय बनेको छ । भारतीय कांग्रेस छाडेर भाजपामा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले आकर्षक मानिने

नागरिक उड्डयन मन्त्रालय पाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मोदी मन्त्रिमण्डलमा १२ जना दलित समुदायका सदस्य छन् । यसैगरी जनजाति ८ र महिला ११ जना छन् । मन्त्रीमण्डल विस्तारमा उनले पहिलेभन्दा युवा र पिछडिएको वर्गबाट आएका नेतालाई प्राथमिकता दिएका छन् जसले मन्त्रीमण्डल बिस्तारलाई समावेशी बनाएको छ ।

नयाँ मन्त्रीमण्डल बिस्तारसँगै मन्त्रीहरुको औसत उमेर ५८ वर्षमा झरेको छ जुन उमेर पुर्नगठन हुनुभन्दा पहिला ६१ थियो । १४ जना मन्त्रीहरु ५० वर्ष कम उमेरका छन् भने तीन मन्त्री ४० वर्ष कम उमेरका छन । केही महिनायता मोदीले तारन्तार युवा र भिजन भएका नेता मन्त्रीको रुपमा ल्याउन खोजेका बताइरहेका थिए ।

त्यसैगरी नयाँ मन्त्रिपरिषद् गठन गर्दा मोदीले विषय विज्ञता र प्रशासनिक अनुभवलाई विशेष प्राथमिकता दिएका छन । सम्बन्धित क्षेत्रमा लामो काम गरेको अनुभव भएको व्यक्तिलाई उनले मन्त्रीमण्डलमा ल्याएका छन । यस अगाडि मन्त्री भएको व्यक्तिसँग प्रशासनिक र विषयविज्ञ नभएका कारण राम्रोसँग काम गर्न नसेको निष्कर्षसहित यसपटक विज्ञता र प्रशासनिक अनुभवको आधारमा मन्त्रीहरुको चयन भएको हो ।

मन्त्रीपरिषदमा भएका अधिकांशसँग लामो समयसम्म सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव छ । मन्त्री र राज्यमन्त्रीसहित ७७ जनाको मन्त्रिपरिषदमा १३ जना वकिल, ६ जना डाक्टर, ५ जना इन्जिनियर, ७ जना पूर्वसरकारी कर्मचारी र सात जनाले विद्यावारिधि हासिल गरेका छन । उनीहरुले विश्वका ठूला विश्व विद्यालयमा अध्ययन गरेकादेखि भारतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकाहरु छन् ।