समाचार

तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता, सडक अवरुद्ध


काठमाडौँ – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएर बेपत्ता भएका गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा जाँदै गर्दा माथिबाट खसेको पहिरोले उनलाई पुरेको हो । बेपत्ता थापाको स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् ।

यसैबीच पहिरोले तनहुँमा डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण यो सडकखण्ड अवरुद्ध भएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिनुभयो । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो । डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ ।