देश

टेम्पो चालकको गुनासो : कमाइ छैन, कसरी परिवार पाल्ने ?


काठमाडौँ – निषेधाज्ञा जारी भएसंगै बन्द भएका टेम्पोहरु सञ्चालनमा आएका छन् । तर, टेम्पो सञ्चालनमा आए पनि आम्दानी नहुने उनीहरु बताउछन् । लामो समय बन्दको मर्का खेप्न बाध्य भएका उनीहरु कसरी परिवार पाल्ने चिन्तामा छन् ।

गत वर्षको लकडाउन, निषेधाज्ञा र अहिले पनि कोरोनाको दोस्रो लहर फैलिएपछि जारी निषेधाज्ञाका कारण विशेष गरी टेम्पो चालकमा यसको प्रत्यक्ष प्रभाव परेको छ । संक्रमणदर कम भएर अवस्था सामान्य हुँदै गएको थियो । पुनः दोस्रो लहरको कोरोना संक्रमण फैलिएर निषेधाज्ञा जारी भएपछि टेम्पो चालक थप मारेमा परे । स्वास्थ्यका मापदण्ड अपनाएर २२ गते देखि टेम्पो सञ्चालन गर्न दिइएको छ । तर, सडकमा खाली–खाली नै टेम्पो कुदाउनु परेको छ ।

टेम्पो चलाए रै परिवार पाल्दै आएका टेम्पो चालकहरु निषेधाज्ञा कारण धेरै मर्कामा परेका छन् । दैनिकी राम्रैसँगै चलिरहेको थियो । तर गत वर्षदेखिको कोरोनाका कारण टेम्पो चलाउन नपाउँदा कोठा भाडा तिर्न त परैको कुरा हो, खान बस्न पनि गाह्रो भइरहेको उनीहरु गुनासो गर्छन् । दिनहुँ टेम्पो कुदाएर छाक टार्ने चालकको विषयमा राज्यलाई चिन्ता छैन । रोगले मरुन् की भोकले सरकारलाई मतलब नै नगरेको उनीहरु बताउछन् । सरकारले तल्लो वर्गका नागरिकका समस्या नबुझेको उनीहरुको गुनासो छ । सरकारले निषेधाज्ञाको बेला टेम्पो चालकलाई धेरै ठूलो अन्याय गरेको उनीहरु बताउछन्

लामो समयदेखि टेम्पो चलाएर जीविकोपार्जन गर्दै आएका टेम्पो चालकहरु यात्रु नै नपाएर चिन्तामा छन् । निषेधाज्ञा अघि कमाएको पैसा सकिएपछि दिनहुँ समस्या थपिँदै गएको थियो । यस्तै, टेम्पो कुदाउन नपाउँदा आयस्रोत बन्द भएपछि भोकभोकै मर्ने अवस्था सिर्जना भएको थियो । तर, अहिले सञ्चालमा त आयो, यात्रु भेटिदैन कसरी परिवार पाल्ने र कोठाभाडा तिर्ने भन्ने समस्या भएको उनीहरु बताउछन् ।

दिनभर टेम्पो कुदाएर बेलुका साहुलाई पैसा बुझाएर बाँकी रहेको पैसाले परिवारको छाक टार्ने यी त प्रतिनिधि पात्रहरू मात्रै हुन् । कोभिड महामारीमा यस्ता धेरै टेम्पो चालकहरुको पिडा उस्तै छ । त्यसैले रोजीरोटीसँग जोडिएको विषय भएकाले यसलाई सरकारले गम्भीर रूपमा हेर्न जरुरी छ ।