देश

रिटायर्ड एसपी मायाहजुरले लापरवाहीका साथ गाडी चलाउँदा सडकमा आतंक


काठमाडौँ – नेपाल प्रहरीका एक जना अवकाशप्राप्त प्रहरी उपरीक्षक मायाहजुर शाहले काठमाडौँमा गाडी जथाभावी गुडाएर क्षति पुर्याएका छन् । धुम्बाराहीस्थीत सशस्त्र प्रहरीका भूपु डीआईजीको घरबाट निस्कीएका उनले सडकमा आतंक नै मच्चाएका छन् ।

नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी उपरीक्षक एसपी माया हजुर शाहले मंगलबार साँझ काठमाडौँमा निजी कार जथाभावी हुइकाउँदा पसलहरुमा भौतिक क्षति पुग्यो भने केही मानिसहरुलाई घाइते समेत बनाएका छन् । बा १० च ४७५५ नम्बरको निजी कार चलाएका पूर्व एसपी माया हजुर शाहले सडकमा आतंक मच्चाएका हुन् । शसस्त्र प्रहरीको डीआइजीबाट रिटायर्ड भएका माधव थापाको धुम्बाराहीस्थीत घरबाट साँझ ८ बजेतिर निस्कीएका उनले छेवैको मासु पसलमा क्षति पुर्याएका थिए । पीडितका अनुसार तिब्र गतिमा आएको त्यो कारले यस्तो क्षति पुर्याएको हो ।

क्षति पुर्याइसकेपछि गाडीका चालकलाई रोक्न खोज्दा उल्टै धकेलेर लडाई त्यहाँबाट अनियन्त्रीत रुपमा गाडी हुइक्याएको प्रत्यक्षदर्शीहरुको भनाई छ । दुर्घटनापछि गाडीका केही पार्ट पुर्जाहरु पनि त्यहीँ छुटेको छ । केही पैदल यात्री र मोटरसाइकल यात्रीलाई पनि घाइते बनाइदिएका छन् ।

माया हजुर शाहले धुम्बाराहीबाट हुइक्याएको यो गाडी चाबहिल सरस्वती नगरमा आफ्नै घरमा ल्याएर सम्पर्कबिहिन बनेका थिए । पीडीतहरुका अनुमान अनुसार उनले मादक पदार्थ सेवन गरि सवारी हाँकेका थिए । पूर्व डीआइजी माधव थापा जनपद प्रहरीमै डियसपीसम्म जिम्मेवारी सम्हाली द्धन्दको समयमा सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । उनकै घरमा पुगेका माया हजुर शाहले गाडी अनियन्त्रित भएको तर आफूले मदिरा सेवन नगरेको दावी गरेका छन् । घटनापछि स्थानीयहरुले शाहको घरमै पुगेर कारवाहीका लागि माग गरेका थिए । प्रहरीले गाडीलाई नियन्त्रणमा लिइ गौशाला प्रहरी वृत्तमा राखेको छ । शाहलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन । पूर्व एसपी शाहले भत्कीएको मासु पसल बनाइदिने आश्वासन दिएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।