राजनीति

कूटनीतिक कमजोरीका कारण खोप आउन नसकेको जितेन्द्र देवको आरोप


काठमाडौँ – नेपाल सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन नसकेको नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले राष्ट्रियसभा सदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्व कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उहाँले गर्नुभयो ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेश र पाकिस्तानलाई उपलब्ध भएको सांसद देवको भनाइ छ । भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै सरकार किन फेल भयो भनेर प्रश्न गर्नुभयो ।

राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंग्गित गर्दै उहाँले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गर्नुभयो । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिँदै व्यंग्य कविता वाचन गर्नुभएको थियो ।