देश

माथिल्लो तामाकोशीको ७६ मेगावाट विद्युत उत्पादन सुरु


माथिल्लो तामाकोशीको ७६ मेगावाट विद्युत उत्पादन सुरुकाठमाडौँ – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । ४५६ मेगावाट कुल क्षमतामध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरबाट रिमोटको माध्यमबाट टर्बाइन घुमाएर विद्युत उत्पादनको उद्घाटन गरे । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्मित आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गरिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक खपतका लागि मात्रै नभई बाह्य निर्यातका लागि समेत यो आयोजनाले योगदान गर्न सक्ने बताउनुभयो । स्वदेशी लगानीमा यो आयोजना बन्नु खुसीको कुरा भएको बताउनुभयो ।

उर्जा क्षेत्रको आत्मविश्वासहित राष्ट्रिय आत्मविश्वास यो आयोजनाले बढाएको बताउनुभयो । “हामी हाम्रो बलबुतामा पनि थुप्रै विकासका काम गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ,”।

लोडसेडिङ अन्त्य आन्तरिक उत्पादनबाट मात्रै नभई आयात गरेर गरिएको भन्दै केही समयभित्रै पूर्ण क्षमतामा उत्पादन भएपछि दीर्घकालिन रूपमा लोडसेडिङ अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । यो आयोजनाले शिक्षा, स्वास्थ्य, औद्योगिक एवम् ग्रिन इनर्जीको प्रयोग गर्ने सन्दर्भमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

उर्जा मन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पुँजीमा निर्मित यो आयोजनाले मुलुकको अर्थतन्त्रमा ठूलो उपलब्धी हासिल गराउने बताउनुभयो । यो आयोजनाका कारण अब नेपालमा लोडसेडिङको पुनरावृत्ति नहुने पौडेलले बताउनुभयो । “दीगो रूपमा लोडसेडिङको अन्त्य यो आयोजनाले गरेको छ । यो आयोजनाले जीडीपीमा नै योगदान दिने छ,” ।