समाचार

सुजिता मृत्यु प्रकरण : शवनजिकै बोतल र झोला घटना रहस्यमय !


काठमाडौँ – चितवनको राप्ती नगरपालिका-३ कि २३ वर्षीया सुजिता भण्डारीको मृत्यु घटना रहस्यमय बनेको छ । साथीको घर जान्छु भनेर असार ११ गते बिहान करिब ६ बजे निस्केकी भण्डारीको शव १० दिनपछि जंगलमा भेटिएको छ । राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा च्याउन टिप्न गएका स्थानीयले आइतबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो।

आइतबार जंगलमा शव भेटिएपनि प्रहरीले शव उठाएको थिएन । फरेन्सिक विज्ञ र तालिम प्राप्त कुकुरसहितको टोलीको पर्खाइमा शवलाई सुरक्षा दिएको प्रहरीले सोमबार मात्रै घटनास्थल मुचुल्का गरेर शव उठाएको थियो । शव सड्न थालिसकेकाले हराएको केही दिनमै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारी बताउँछन् ।

शव भेटिएपछि घटनास्थल मुचुल्का गरेर उठाउने क्रममा शव नजिकै एउटा बोतल फेला परेको प्रहरीले जनाएको छ । उक्त बोतल कसरी त्यहाँ आयो, बोतलमा विषादी थियो वा अरु केहीको बोतल हो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ । शव नजिकै एउटा झोला पनि भेटिएको प्रहरी बताउँछ ।

बेपत्ता युवती मृत भेटिएपछि आन्दोलित स्थानीयका कारण चितवनको भण्डारास्थित अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुलेको छैन । राजमार्ग खुलाउनका लागि आन्दोलनकारीसँग सहमतिको प्रयास भइरहेको चितवनका प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो ।