देश

माथिल्लो तामाकोशीबाट परीक्षणको रुपमा बिजुली उत्पादन गरिँदै



काठमाडौँ – राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन हुँदै छ । प्रधानमन्त्री केपी ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने तय गरिएको छ ।


४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ । माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ ।