राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : अब बहसका लागि जम्माजम्मी ४ घण्टा मात्र बाँकी


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहसका लागि अब चारघण्टा मात्र बाँकी रहेको छ । गत जेठ ८ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका तर्फबाट दर्ता भएको रिटमा सर्वोच्च अदालतलको संवैधानिक इजलासमा बसह भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध देउवासहित सर्वोच्चमा ३० रिट परेका थिए । तर, सार्वजनिक सरोकारका विषयमा परेका बाँकी २९ रिटलाई लगाऊ रिट मानी देउवासहित विपक्षी गठबन्धनले दर्ता गराएको रिटमा सर्वोच्चमा बहस भइरहेको छ । निवेदक पक्षपछि प्रधानमन्त्री, राष्ट्रपतिसहितका विपक्षका तर्फबाट पनि बहस सकिएको छ ।

रिटमा विपक्षी बनाइएको सभामुखका तर्फबाट पनि तीन वरिष्ठ अधिवक्ता र दुई अधिवक्तागरी पाँच जनाले बहस गरेका छन् । सभामुखका तर्फबाट भएको बहस सकिएसँगै निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको थियो ।

जवाफी बहका लागि संवैधानिक इजलासले तीन घण्टा समय तोकेको छ । त्यसमा निवेदक पक्षबाट वरिष्ठअधिवक्ता रमन श्रेष्ठले आइतबार एक घण्टा बहस गरेका छन् । संवैधानिक इजलासले दिएको ३ घण्टा मध्ये अब बाँकी २ घण्टा समयमा वरिष्ठ अधिवक्ताहरू बद्रिबहादुर कार्की, हरिहर विरही र शम्भु थापाले बहस गर्ने छन् ।

उनीहरूको जवाफी बहस सकिएसँगै अदालतको सहयोगी एमिकस क्युरीका तर्फबाट थप दुईघण्टा बहस हुने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू राघवलाल बैद्य, उषा मल्ल, कोमलप्रकाश घिमिरे र प्रकाश केसी रहेका छन् । उनीहरूको बहस सकिएपछि सर्वोच्च अदालतले फैसला सुनाउने छ ।