समाचार

सानेपामा भारतीय नागरिक मृत फेला


काठमाडौँ – ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन् । भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो । उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

‘घोप्टो परेको अवस्थामा भेटिएको हो । कोठाको झ्याल खुल्लै देखिन्छ । विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्याले भनिनन् ।

सत्यनारायण इलेक्ट्रिकको काम गर्दै आएका थिए । उनी केही समयदेखि एक्लै कोठामा बस्दै आएका थिए । राति साढे ८ बजेसम्म उनको एक जना मानिससँग फोनमा कुराकानी भएको खुलेको छ । अनुसन्धानमा सहयोगका लागि घटनास्थलमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरसमेत प्रयोग गरिएको छ ।