देश

बाढीका कारण धेरै सडक खण्ड पूर्ण रुपमा बन्द,मुग्लिन–नारायण सडक खण्ड एकतर्फी रुपमा खुल्ला


काठमाडौँ – तीन दिनदेखि बन्द हुँदै खुल्दै आइरहेको मुग्लिन नारायणगढ सडक खण्ड अहिले एकतर्फी रुपमा खुलेको छ । १२ स्थानमा गएको पहिरो पन्छाएर सडक खुलाइएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले जानकारी दिएका छन् । उनका अनुसार बेलुकी पाँच बजेसम्म सडक दुईतर्फी नै खुलाउने तयारी भएको छ ।


सडक बन्द हुँदा चितवनको भरतपुरदेखि मुग्लिनसम्म गाडीको जाम रहेको र विस्तारै खुलाउने काम भइरहेको छ । बाढी र पहिरोका कारण देशभरका १५ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । मनसुन शुरु भएपछि एक सय एक वटा सडक बन्द भएकोमा २९ वटा पूर्ण रुपमा र ५७ वटा एकतर्फी सञ्चालनमा ल्याएको सडक विभागले जनाएको छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ क्षेत्रमा ठाउँ ठाउँमा पहिरोले सडकमा अवरोध पुर्याएको छ भने केही ठाउँमा डाइभर्सन पनि बगाएको छ । अहिले बर्दघाट पश्चिम र नवलपरासी पूर्वका केही ठाउँका अवरोध हटाएर कतै एकतर्फी र कतै दुईतर्फी नै गाडी चलेका छन् । यस्तै मनाङको तिमाङ छहरामा पहिरो गएर जेठ ३१ गतेदेखि बन्द रहेको सडक अझै खुलेको छैन ।

यस्तै सिन्धुपाल्चोकको लिपिङ पुल, मनाङको तिमाङखोला, धारापानी र वगरछाप, लमजुङको रामबजार, अर्खले र च्याम्चेको सडक असार तीन गतेदेखि बन्द छ । रसुवाको त्रिसुलीखोला, सानो भार्खुखोला र बार्खुमा असार चार गतेदेखि सडक बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा असार ५ गतेदेखि सडक बन्द छ । यस्तै मकवानपुरको जितपुर, लामिडाँडा र बगुवामा पनि अस्ति बिहिबार देखि नै सडक बन्द रहेको सडक विभागले जनाएको छ ।

सडकमा झरेको पहिरो पन्छाउन, भत्किएको सडकमा अस्थायी संरचना बनाई तत्काल संचालन गर्न तथा अन्य मर्मतका लागि उपकरणसहित कामदारहरु तयारी अवस्थामा राखेको र सकेसम्म चाँडै सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।