राजनीति

एमाले पुरानै अवस्था, नेपाल ओली एक कति छ सम्भावना ?


काठमाडौँ – सत्तारुढ एमालेभित्रको विवाद समाधानका लागि मिलनविन्दुको खोजि भइरहेका बेला दशौं महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । योसंगै पार्टी नवौं महाधिवेशन आयोजक कमिटीकै पूर्ववत अवस्थामा फर्किएको छ । तर माधव नेपाल पक्षले ओलीको निर्णयलाई शिरोपर गरेर अघि बढ्ने अवस्था देखिदैन ।

सत्तारुढ नेकपा एमालेभित्रको विद्रोही माधव नेपाल पक्षले गत वर्षकोफागुन २८ यता उठाउँदै आएको मुल मुद्दामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अन्ततः सहमत भएका छन् ।सर्वाेच्चको फैसलापछि गत वर्षको फागुन २८ मा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी खारेज गरेर दशौं महाधिवेशन आयोजक कमिटी बनाएपछि एमाले एकता भाँडिएको थियो ।

त्यसयता यहीँ विषयमा असन्तुष्टि जनाउँदै पार्टीको माधव नेपाल पक्ष विद्रोही भएर निस्किएपछि एमाले विभाजन नभई सुखै नहुने अवस्थामा थियो । तर बुधबारको एमाले बैठकले दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर नवौं महाधिवेशनबाट निर्वाचित कमिटीकै पूर्ववत अवस्थामा पार्टीलाई फर्काएपछि एमाले विवाद नयाँ अध्यायमा प्रवेश गरेको छ ।दशौं महाधिवेशन कमिटी नै एमालेको केन्द्रीय कमिटीमा परिणत भएपछि वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई गरिएको निष्काशन समेत स्वतः निस्प्रभावी बनेको छ ।

पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्किएपनि ओलीले कारबाहीमा परेको ११ नेताबाहेकलाई बोलाएको बैठकमा माधव नेपाल पक्ष सहभागी भएको छैन ।नेपाल पक्षको उपस्थिति बिनै अध्यक्ष ओलीले पूर्वमाओवादी र माधव पक्षका केही नेतालाई समेटेर स्थायी कमिटी विस्तार गरेका छन् । जसमा पूर्वमाओवादी धारका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा छन् ।

माधव नेपाल पक्षका रघुजी पन्त र केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र बुझाएका बेदुराम भूसालसमेत स्थायी कमिटीमा परेका छन् । तर माधव नेपालसहितका ११ नेतालाई बैठकमा नबोलाउनुर जेठ २ मा पार्टी फर्किएको भनिएपनि व्यवहारतःफागुन २८ का निर्णयका पेरिफेरीमा रोकिनुले अझै आशंका उब्जाएको छ । यसबाहेक ओलीलेमाधव पक्ष बिनाको एमाले बनाउन खोजिरहेको उनी पक्षिय नेताहरुले दिने अभिव्यक्तिबाट झल्कीन्छ ।

पार्टी संरचना पूर्ववत अवस्थामा फर्किएपनि एमाले विवाद समाधान हुने छाँट भने देखिएको छैन । देशभर समानान्तर संरचना निर्माण गरेको माधव पक्षका २६ सांसदले एकता प्रयास चलिरहेका बेला संसद भंग गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । सर्वोच्चमा दायर रिटमा २३ जनाले हस्ताक्षरपनि गरेका छन । लगतै अध्यक्ष ओलीले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निस्कासन गरेका थिए ।

अब माधव नेपाल पक्षलेदेउवालाई दिएको समर्थन फिर्ता, सर्वोच्चमा गरेको हस्ताक्षर फिर्ता र देउवा–प्रचण्डसँग गरेका सम्पूर्ण कवुलियतनामा फिर्ता गरेर एमालेमा पुनर्वहाली हुनुपर्नेछ । किनकि जेठ २ मा फर्किनु पर्ने उनीहरुको एकमात्र अडान पनि पूरा भएको छ। तर ओलीको यो कदमभित्र पनि कतिपयले आशंका साँधिरहेका छन् । संकटका बेला माधव नेपालसंग वार्ता र कारबाही फिर्ताको कार्ड फ्याक्दै आएका ओलीले संसद् पुनःस्थापना भए विश्वासको मत लिने प्रयोजनका लागि एमालेलाई पूर्ववत अवस्थामा फर्काएको आँकलन पनि भइरहेका छन् । यद्यपी ओलीको यो कदमलाई माधव नेपाल पक्षले कसरी स्वीकार्छ त्यसैले अव एमालेको भविष्य निर्धारण गर्नेछ ।