समाचार

यसरी मनाइयो धान दिवस, यस वर्ष उत्पादन बढ्ने सरकारको दाबी


काठमाडौँ – आज असार १५, अर्थात् राष्ट्रिय धान दिवस । कोरोनाको त्रासका बीच काठ क्षेत्रका कृषकले करिब करिब रोपाइँ सक्दैछन् भने पहाडी भेगमा बल्ल शुरु हुँदैछ । यही मेसोमा देशभर दहीचिउरा खाएर र असारे भाका गाएर असार १५ मनाइएको छ ।

नेपालमा असार १५ लाई धान दिवसका रूपमा मनाउने चलन छ । पहाडी क्षेत्रमा भर्खर शुरु हुँदै गर्दा काँठ क्षेत्रका अधिकांश खेतमा रोपाइँ भइसकेको छ । नेपाल कृषिप्रधान देश भएकाले असार १५ लाई विशेष पर्वको रूपमा मनाइन्छ । यो दिनलाई दहीच्यूरा खाने पर्वको रूपमा समेत लिने गरिन्छ ।

असारे चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि यो दिन दही च्यूरा खान्छन् । रोपाइँका वेला गाउने असारे भाकाको पनि विशेष महत्त्व छ ।
असार १५ लाई राष्ट्रिय पर्व मानिए पनि राज्यले कृषि क्षेत्रलाई प्राथमिकता नराखेको कृषकको गुनासो छ । तर, सरकार भने धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको बताउछ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको बताउछन् । मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताए ।

कृषिको आधुनिकीकरण हुन नसक्दा कृषकले सोचेजस्तो प्रतिफल प्राप्त नगर्ने समस्या वर्षौैँदेखि कायम छ । यस कारण कृषि कर्म छोडेर शहर वा विदेश पलायन हुने क्रम रोकिएको छैन । असार १५ लाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै गर्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न र यसको आधुनिकीकरणका लागि राज्यले दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ ।