समाचार

चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु


काठमाडौँ – पर्सामा चट्याङ लागेर मंगलबार तीन जनाको मृत्यु भएको छ । चट्याङले अर्का एक जना गम्भीर घाइते र तीन जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका – ४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली– १ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी– ३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन् ।

यादव र आजगदी भैंसी चराइरहेका थिए भने थारू खेलमा काम गरिरहेकी थिइन् । सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ। मंगलबार बिहान ७ बजे चट्याङ परेको थियो ।