देश

धान उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुन्छ : मन्त्री नेम्वाङ


काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताउनुभएको छ । मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताउनुभएको हो । कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो । देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टिकरण ढंगले अगाडी बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिदैनँ । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मुल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो ।’ मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उहाँले बताउनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो । मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उहाँले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताउनुभयो ।