समाचार

झापाका २ गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने


काठमाडौँ – झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले रु पाँच लाख रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ ।