समाचार

उपत्यकाका तीन प्रजिअको बैठक बस्दै, सार्वजनिक यातायात खुलाउने तयारी


काठमाडौँ – उपत्यकामा आजदेखि सार्वजनिक यातायात खुला गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि पुनः थप गर्ने विषयमा निर्णय गर्न आज बिहान ९ बजेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ ।

त्यस क्रममा सार्वजनिक यातायात खुलाउने सम्भावना पनि रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । ‘निर्णय गर्न त बाँकी छ,’ ‘तर सार्वजनिक यातायात खुलाउने सम्भावना छ ।’

यसको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा भने छलफल भइरहेको उहाँले बताउनुभयो । जोर बिजोर नियम लागू गर्ने वा अन्य कुनै विधि अपनाउने भन्ने मोडलमा छलफल भइरहेको जानकारी दिनुभयो ।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने साविकबमोजिम नै निषेधाज्ञा लम्ब्याउने कि सार्वजनिक यातायात पनि खोल्ने, दुवै विषयमा छलफल भएको बताउनुभयो । निर्णय नहुँदै यसै हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ।

तीन जिल्लाको संयुक्त बैठक बसेर बिहान १० बजेसम्ममा निषेधाज्ञा थप विषयमा आदेश जारी गरिने उहाँले जानकारी दिनुभयो ।