राजनीति

ओली निरंकुश शासन चलाउन चाहन्छन् : यादव


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ जनाको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिएको बताएका छन् ।

बिहीबार बानेश्वरमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले ‘हामीले १ सय ४९ को हस्ताक्षर बुझाएका थियौं । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाजी हुनुपर्ने हो। तर ओलीकै निरन्तरता भयो। कि त राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ।’ भन्ने प्रतिक्रिया दिएका हुन् । यादवले ओलीले निरंकुश र स्वेच्छाचारी शासन चलानउ खोजेको पनि आरोप लगाएका छन् । ‘एउटै संसद्लाई एउटै प्रधानमन्त्रीले २–२ पटक विघटन विरलै हुन्छ। ओली निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन्।’

‘हामी १ सय ४६ जना अदालत गएका छौं। अदालतबाट न्यायको पक्षमा फैसला आउँछ भन्ने विश्वास छ। हामी ५ दल एक ठाउँमा छौं। यो प्रतिगमनको विरूद्धमा छौं।’ उनले अदालतबाट न्यायको पक्षमा फैसला आउनेमा पनि विश्वास व्यक्त गरे।