बिजनेस

सेयर लगानीकर्ताले धैर्यता गुमाए, नेप्सेमा पहिरो


काठमाडौँ – सेयर बजारका लगानीकर्तामा धैर्यता निकै महत्वपूर्ण पक्ष हो । तर त्यहि धैर्यता गुम्दा नेपाली शेयर बजारमा उतारचढाव आइरहेको छ । साताको पहिलो र दोस्रो दिन उच्च अंकले घटेको बजारमा तेस्रो दिन भने सकारात्मक रुपमा बजार बढेको थियो तर बुधबार लगानीकर्ताले धैर्यता गुमाउदा बजार पुनः घट्न पुगेको छ । सेयर बजारमा दिनहुँ हुने उतारचढावबाट जोगिन स्पष्ट योजना बनाउन विश्लेषकहरुले सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अस्थिरता कायमै रहेको छ । गत साता नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्न थालेको हो । तर, मंगलबार भने नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको थियो । फेरि बुधबार नेप्सेमा भारी अंकको गिरावट आएको छ । लगानीकर्तालाई निराश पार्दै नेप्से ५३.८८ अंकले घटेर दुई हजार ८ सय ५९ दशमलब ९६ विन्दुमा थामिएको छ । मंगलबार १० अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम उच्च दरले घटेको हो ।

बुधबार २१८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भएको छ । घटेको बजारमा दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ९.७१ प्रतिशतले बढेको छ भने ङादि ग्रुप पावरको पनि ९.०९ प्रतिशतले बढेको छ । यस्तै छ्याङ्दी हाइड्रोपावरको ६.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.१६ प्रतिशत र घलेम्दी हाइड्रोको ६.०२ प्रतिशतले बढेको छ ।

यता कालिका पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.६० प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको ५.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ५.१४ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको ५.०८ प्रतिशतले घटेको छ । तर लगानीकर्ताहरु यसलाई सामान्य करेक्सन भएको प्रतिक्रिया दिन्छन् । मंगलबार बढेको मार्केटमा कमाएका लगानीकर्ताले बुधबार नाफा बुक गरेको मान्न सकिने उनिहरुको भनाई छ ।

राजनीतिक अस्थिरता झनै चुलिएको र बैंकिङ प्रणालीमा तरलता अभाव भएका खबरहरु सार्वजनिक हुँदा पनि सेयर बजारका लगानीकर्ता केही हच्किएको अनुमान गरिएको छ । तथापि, सेयर बजार तलमाथि गरिरहने भएका कारण यसलाई ख्याल गर्दै आम लगानीकर्तामा धैर्यता हुन आवश्यक छ । बजार ३ हजार विन्दु पार गरेपछि ट्रेडरहरुले सेयर बिक्री गरे । यहीक्रममा निकै तल्लो विन्दुमा सेयर खरिद गर्नेकाहरुले पनि केही मात्रामा आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्नुलाई स्वभाविक मान्न सकिन्छ । सेयर बजारमा किन्ने र बेच्ने क्रम चलिरहन्छ । यस्तै, पुरानाले बेच्ने अनि नयाँ लगानीकर्ता भित्रिने प्रवृत्ति पनि स्वभाविक हो । यसलाई अन्यथा मान्नु हुँदैन ।