कोरोना विशेष

शहरमा संक्रमणदर घटे पनि गाउँ-गाउँमा फैलियो कोरोना, निषेधाज्ञा के होला ?


काठमाडौँ – पछिल्लो समय शहरी क्षेत्रमा संक्रमण घट्दै गए पनि गाउँमा संक्रमण बढेको स्वास्थ्य मन्त्रलयको तथ्यांकले देखाएको छ ।

नेपालका अधिकांश सहरी भेगमा निषेधाज्ञाको राम्रोसँग पालना हुँदा सक्र्रमितको संख्या घट्दो क्रममा पाइए पनि विकट, दुर्गम भेगमा हेलचेक्र्याइँ बढ्दा संक्रमणदर बढ्दो देखिएको विज्ञ बताउछन् ।नेपालको शहरी क्षेत्रमा संक्रमण घट्दै गर्दा गाउँमा संक्रमण बढेको तथ्यांकले देखाएको छ ।

महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या लगभग दोब्बर देखिएको थियो । मृत्युदर पनि झन्डै ५ गुणाले बढेको थियो । तर पछिल्लो समय शहरी क्षेत्रमा संक्रमण घट्दै गए पनि गाउँगाउँमा भने संक्रमण दर झन् बढेको छ । असार १ गतेसम्म आउँदा देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् । जुन तुलनात्मक रुपमा घट्दै गएको हो ।

पछिल्लो १४ दिनमा १० जिल्लामा भने कोरोना संक्रमण बढ्दै गएको सरकारी तथ्याङकले देखाउछ । उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेखमा संक्रमित बढ्ने क्रममा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा दोस्रो लहरको संक्रमण उच्च विन्दु पुगेको भनिएको दुई महिनाबीचको समयमा अहिले साप्ताहिक झन्डै एक तिहाइले सक्रमित घटेको सरकारी तथ्याङकले देखाउँछ । सहरी क्षेत्रमा भने संक्रमितको संख्यामा कमी आउँदै गए पनि ग्रामीण क्षेत्रमा यो संख्या बढ्दै गएको विज्ञहरु बताउछन् । अधिकांश भारतसँग सीमा जोडिएका कारण गाउँमा संक्रमण बढेकोले अझै सीमा नाकाहरुमा कडाई गर्नु पर्ने उनीहरुको भनाई छ ।

निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको छ । अधिकांश भारतसँग सीमा जोडिएका विभिन्न ठाउँबाट नेपाल प्रवेश गर्न दिइरहेको कारण पनि यो संक्रमण गाउँगाउँमा पुगेको हो । निषेधाज्ञा जारी गरी नागरिकलाई घरै बस भनेर मात्र सरकारको दायित्व पूरा हुँदैन ।

संक्रमण नियन्त्रणमा अहिलेको अवस्थामा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले नागरिकलाई सजग बनाएर स्वास्थ्य मापदण्ड पालना गर्न प्रोत्साहन गर्नेतर्फ स्थानीय सरकार शतर्क रहनु आवश्यक छ ।