राजनीति

कसरी सम्भव छ भदौमा कांग्रेस महाधिवेशन ? (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने प्रस्ताव केन्द्रिय समितिमा पेश गर्ने भएको छ ।
राजनीतिक दलसम्बन्धी विधान अनुसार भदौंभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसलाई कोरोना महामारी बाधक बनिरहेको छ । महाधिवेशन आउन अब साढे २ महिना मात्रै बाँकी रहेकोले यसबीचमा वडादेखि जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गर्न कांग्रेसलाई फलामको चिउरा चपाए सरी हुने निश्चित छ ।

नेपाली कांग्रेसको महाधिवेशनको मिति ९ दिन पर सर्ने भएको छ । भदौ ७ देखि १० गते सम्म गर्ने भनिएको महाधिवेशन आगामी भदौ १६ गते देखि १९ गते सम्म गर्ने प्रस्ताव केन्द्रिय समितिमा पेश गरिने भएको छ । महाधिवेशनको मिति सरेसँगै निर्वाचन केन्द्रिय गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समय तालिका हेरफेर हुने भएको छ ।

यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ ।

संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ । पदाधिकारीले संसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउन प्रस्ताव गरिएको छ ।

कोभिड संक्रमणको जोखिम बढे सँगै नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधि मार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा बिद्यार्थी भन्दै आएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पनि सञ्चार विभागले त्यसको तयारी थालेको बताएका छन् । कांग्रेसको केन्द्रिय तहको बैठकमा भने डिजिटल प्रविधि मार्फत महाधिवेशन गर्ने बारे अहिलेसम्म कुनै छलफल भएको छैन । असार ३ गते बस्ने केन्द्रीय कमिटी बैठकमा भने यस्को सम्भाव्यताबारे बैठकमा छलफल हुनुपर्ने कांग्रेस नेताहरु बताउँछन् ।

राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । तर संविधानको भाग २९ अन्तर्गत धारा २६९ को उपधारा ४(ख) मा विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने व्यवस्था छ ।
कांग्रेसको हकमा थप अवधि पनि भदौभित्र सकिदैछ । त्यसैले भदौंभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक वाध्यताको बन्धनमा कांग्रेस रहेको छ । कोरोना महामारीले अवस्था थप असहज भएकोले वाँकी साढे २ महिनामा वडादेखि जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गर्न कांग्रेसलाई फलामको चिउरा चपाए सरी हुने निश्चित छ ।