राजनीति

गण्डकीमा भएको राजनीति घटनालाई ‘ओली भाइरस’को संज्ञा


काठमाडौँ – गण्डकी प्रदेशमा भएको राजनीतिक घटनाक्रमलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली भाइरसको नाम दिएका छन् । उनले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि पोखरामा पनि ओली भाइरस सल्केको टिप्पणी गरेका हुन् ।

भट्टराईले आफ्नो सामाजिक सञ्जालमार्फतमा लेखेका छन् ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं१ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं! ‘ यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै उनले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्।

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका हुन्।