काठमाडौँ – बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । नेकपा एमालेको दुवै पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए ।
बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार छलफल भएको थियो ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए ।
नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । यससँगै बागमती प्रदेश सरकारको चौंथो नीति तथा कार्यक्रम बहुमतले पास भएको छ ।
यसअघि आजै बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।
प्रदेशसभामा अब असार एक गते बजेट आउने छ । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ ।
प्रतिक्रिया