राजनीति

‘नेपालको विजुलीमा भारतको राजनिति’


काठमाडौँ – नेपालबाट ढुंगा गिटी बालुवा जति परिमाणमा पनि खरिद गर्न तयार रहेको भारतले बिजुली खरिद गर्नमा चाहिँ आनाकानी गरिरहेको छ । वातावरणिय असर पनि नहुने र नेपालमा प्रसस्त सम्भावना रहेको जलविद्युत खरिदमा भने उसको चासो देखिदैन । उल्टै नेपाली बिजुली बंगलादेशलाई बेच्न समेत भारतले बाटो दिएको छैन ।

भारतका लागि सरकारले बजेटमै व्यवस्था गरेर ढुंगा गिटी निकासीको योजना बनाएको छ । रोपवे नै बनाएर नेपालका डाँडा काटेर ढुंगा गिटी भारत लैजाने तयारीमा सरकार जुटेको छ । व्यापार घाटा कम गर्ने नाउँमा सरकारले गरेको यो कार्यलाई आलोचकहरुले मिर्गौला बेचेर लुतोको उपचार गरेको संज्ञा दिएका छन् । उता नेपालबाट जति पनि ढुंगा गिटी किन्न तयार भएको भारत, नेपालको बिजुली खरिद गर्नमा चाहिँ आनाकानी गरिरहेको छ ।

यतिमात्र हैन भारतले बाटो नदिएकै कारण नेपालको बिजुली बंगलादेशलाई बेच्न समेत समस्या भईरहेको छ । नेपालका डाँडा नै काटेर भारतको आवश्यकता पूरा गर्न नेपाल तयार भइरहँदा पनि भारत नेपालको बिजुली सजिलै खरिद गर्न खोजिरहेको छैन । निर्माण अवधि लम्ब्याएर, लागत दोब्बरभन्दा बढी पुर्याएर बेहाल पारिएको माथिल्लो तामाकोशी अहिले जसोतसो परीक्षणको चरणमा पुगेको छ ।

माथिल्लो तामाकोशी, मध्य भोटेकोशी लगायत जलविद्युत योजनाबाट उत्पादन हुने बिजुली बेच्ने प्राधिकरणले भारतलाई प्रस्ताव पठाइसकेको छ । तर भारतले बिजुली किन्ने भन्दा पनि आनाकानी गर्ने, यो वा त्यो कागजपत्र मागेर हैरान खेलाउने, यति धेरै हैरानी खेपेर बेच्नु भन्दा स्वदेशमै खपत गर्न ठीक हो भन्ने जस्तो अवस्थामा पु¥याएको भन्ने चर्चा भइरहेको छ ।

भारतले गएको फागुनमा अन्तरदेशीय विद्युत आयात निर्यात सम्बन्धी कार्यविधि जारी गरेर नेपालको बिजुली भारतमा लैजाने बाटो खोलिसकेको छ । भारतकै पावर एक्सचेन्ज मार्केटबाट नेपाल विद्युत प्राधिकरणलाई बिद्युत किन्ने अनुमति पनि दिएको थियो । बिद्युत बेच्न भारतले फटाफट काम गरेको छ, तर नेपाली बिजुली किन्ने सवालमा भारतको गति सुस्त छ ।

बिजुली खरिद गर्ने बजार अर्थात भारतकै पावर एक्सचेन्ज मार्केटबाट सजिलै बिजुली किन्न चाहिँ नेपालले पाउँछ, तर हालसम्म बेच्न चाहिँ भारतीय अनुमति छैन । माथिल्लो तामाकोशीका ६ वटै युनिटबाट भदौ महिनासम्ममा बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । तर भोटेकोशी जलविद्युत योजना र माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली भारतमा बेच्न स्वीकृति भारतले दिइसकेको छैन । नेपालको गिट्टीबालुमा किन्ने तयार रहेको भारत विजुली किन्न चाँहि किन सुस्तता देखाईरहेको छ त ?
भारतका लागि विद्युत रणनीतिक महत्वको बस्तु भएका कारण पनि तेश्रो देशको लगानी रहेका आयोजनाको विजुली उसले खरिद नगर्ने जानकारहरु बताउछन् । त्यस्तै भारतलाई आफ्नै उत्पालदनले धान्ने भएपनि नेपालबाट आयात गरिने उर्जा सफा उर्जा भएका कारणमात्र उसले चासो देखाएको विज्ञहरु बताउँछन । अर्कातर्फ नेपाल विद्युत व्यापार गर्ने स्थिती मै नरहनु र निर्यात विन्दुसम्मको पूर्वाधार विकासमा नेपालले ध्यान नदिएका कारण पनि विजुली व्यापारको सपना पूरा हुन अझ धेरै वर्ष कुनुपर्ने देखिन्छ ।